‘झरिपछिको इन्द्रेणी’को पब्लिसिटीमा जुट्दै निर्माण टिम, फरक गेटअपमा देखिँदै पाँडे

‘झरिपछिको इन्द्रेणी’को पब्लिसिटीमा जुट्दै निर्माण टिम, फरक गेटअपमा देखिँदै पाँडे


द सिनेमा टाइम्स, काठमाडौं । प्रतिक्षित सिनेमा ‘झरिपछिको इन्द्रेणी’पुस ४ गते रिलिज हुनेछ । यो वर्षको प्रतिक्षित सिनेमा मध्येको एक ‘झरिपछिको इन्द्रेणी’ हो ।

रिलिज मिति नजिकिँदै जाँदा निर्माण टिमले पब्लिसिटीका सामग्री पनि निकाल्न थालेको छ । कलाकारहरूका क्यारेक्टर लुक्स बाहिर आउन थालेका छन् ।

क्यारेक्टर लुक्स अनुसार यो पटक अर्जुन घिमिरे ‘पाँडे’ केही फरक लुक्समा देखिनेछन् । जो यो सिनेमाका निर्देशक पनि हुन् । निर्देशक भए पनि यो सिनेमामा उनको पनि अभिनय छ ।

यसअघि गत वर्ष प्रदर्शन भएको सिनेमा ‘लाज शरणम्’मा उनी टेलिसिरियल ‘सक्किगोनी’को क्यारेक्टर लुक्समै देखिएका थिए । यसपटक भने उनी फरक गेटअपमा देखिने तयारीमा छन् । यो दर्शकका लागि सरप्राइज हुनेछ । उनको क्यारेक्टर लुक्स यतिबेला बाहिर आएको छ ।

‘झरिपछिको इन्द्रेणी’ अर्जुनको डेब्यु निर्देशन पनि हो । उनले पहिलोपटक सिनेमा निर्देशन गरेका छन् । ‘सक्किगोनी’कै अर्का कलाकार दीपक आचार्यले निर्देशन गरेको सिनेमा ‘परान’ले हालसम्म वर्षकै सबैभन्दा धेरै कमाई गरिरहेका बेला सोही टेलिसिरयलका अर्का कलाकारको निर्देशनमा सिनेमा रिलिज हुन लागेको हो । यसले पनि ‘झरिपछिको इन्द्रेणी’ दर्शकको प्रतिक्षामा सूचिमा छ ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, राम कार्की र सुबास शर्मा सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको सिनेमालाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । यो सिनेमाको लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए ।

उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ । यहि सिनेमा बाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहको छ ।

निर्देशक अर्जुन घिमिरेको कथा, पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ ।