द सिनेमा टाइम्स, काठमाडौं । नेपाली कथानक सिनेमा ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सिनेमाको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाको २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाई विशेष जोड दिइएको छ । यो सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा सम्पूर्ण निर्माण टिमको उपस्थिति रहेको थियो । ट्रेलरमा सिनेमाका सवैजसो कलाकारलाई अटाइएको छ ।
काजी लिम्बुले कथा लेखेको ‘लोकन्ती’लाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन् । सिनेमामा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन् । केहि वर्षको अन्तरालपछि सिनेमा ‘लोकन्ती’ मार्फत दर्शक माझ आउन लागेका अभिनेता एसराजले यो सिनेमा राम्रो बनेकाले दर्शकले मन पराउनेमा आशावादी रहेको बताए ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन् । एसराजसहित सिनेमा ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारको मुख्य भूमिका रहेको छ । यो सिनेमाबाट कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन् ।
सिनेमामा विकास चौधरीको संगीत निर्देशनमा, शिव ढकाल र रोनिश तामाङ ‘च्याङ्बा’को छायांकन, गौतम राज खड्काको सम्पादन र सन्दीप डाँगीको ट्रेलर सम्पादन, शंकर अधिकारी ‘घायल’, डाक्टर ओम कृष्ण प्रसाई, दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रचना छ ।


प्रतिक्रिया