द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतको मुख्य भूमिका रहेको सिनेमा ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको करिब दुई मिनेट लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पारेको छ ।
सार्वजनिक टिजरबाट सिनेमाले एक बाबु र छोरीको कथा भन्ने बुझिन्छ । यो टिजरले प्रकाश सपुत र सिर्जना निङलेखुको भूमिकाले दर्शकमाझ उत्साह भर्ने देखिन्छ । उनीहरुलाई सिनेमामा एकअर्काको प्रेममा रहेको अनुमान लगाउन सकिन्छ ।
सार्वजनिक टिजर मार्फत् कथाको रफ्तारसँगै सिर्जनाले दयाहाङलाई मन पराएपछि प्रकाशसँग सम्बन्धमा दरार आएको जस्तो पनि टिजरमा देख्न सकिन्छ । जसले दर्शकमाझ सिनेमालाई लिएर उत्साह पैदा गर्ने अपेक्षा निर्माण टिमको छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको सिनेमामा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ । यो दयाहाङ र प्रकाशको पहिलो सहकार्य हो । ‘मिरमिरे’को निर्देशनसँगै कथा पनि यम स्वयंको लेखन छ । सिनेमाको छायांकन आलोक शुक्लाले गरेका हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर तथा कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको सिनेमाको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।


प्रतिक्रिया