नेपाली समाजको ऐना देखाउँदै ‘झरिपछिको इन्द्रेणी’

नेपाली समाजको ऐना देखाउँदै ‘झरिपछिको इन्द्रेणी’


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा सधैँ सस्तो मनोरञ्जन मात्रै होइन, सन्देश पनि हो । जुन सिनेमाले सन्देशसहित मनोरञ्जन दिन्छ, त्यो सिनेमा नै बलियो हुन्छ । यस्तै सिनेमा हो, ‘झरिपछिको इन्द्रेणी’ ।

भ्रष्ट हुँदै गएको नेपाली समाजबाट बिरक्तिएको नेपालको कथा ‘झरिपछिको इन्द्रेणी’मा छ । जता गए पनि भ्रष्टाचार, जहाँ गए पनि दुई नम्बरी, जे काम गर्न पनि बिचौलियाकै शरण पर्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली समाजको कथा ‘झरिपछिको इन्द्रेणी’मा छ । यो नेपाली समाजको ऐना हो ।

यही नेपाली समाजको ऐना देखाउने सिनेमा हो ‘झरिपछिको इन्द्रेणी’ । घुसखोर प्रशासन र सरकारी अधिकारी देखेर बिरक्तिएको पुस्ता कसरी विदेश जाने सपना देख्छ, विदेश जान परिवारले नै रोकेपछि भ्रष्ट समाजविरुद्ध कसरी युवा उभिन्छन् भन्ने ‘झरिपछिको इन्द्रेणी’मा रहेको यसको ट्रेलरले देखाएको छ ।

सके आफ्नै बलबुतामा नसके डिपेन्डेन्टमा भए पनि विदेश जाने युवाले नेपाली राजनीति र समाजलाई सङ्लो बनाउन गरेको प्रयास ‘झरिपछिको इन्द्रेणी’मा रहेको ट्रेलरमा प्रष्टै देखिएको छ । आफैँ विरुद्ध आन्दोलनको आगो सल्किएपछि कसरी नेताहरू कसरी ज्यान जोगाउन भूमिगत भए भन्ने ट्रेलरमा रहेको छ ।

ट्रेलरले ‘झरिपछिको इन्द्रेणी’ पछिल्लो समयको नेपाली समाजको ऐना रहेको प्रष्टै देखिएको छ । त्यसैले यो सिनेमाले मनोरञ्जनसँगै गहकिलो सन्देश दिने पनि प्रष्टै देखिएको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

आगामी पौष ४ गते देशब्यापी रिलिज हुने यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।