द सिनेमा टाइम्स, काठमाडौं । रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमा ‘बिगुल’को टिजर सार्वजनीक गरिएको छ । आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको १ मिनेट १५ सकेण्ड लामो टिजरले दर्शकमाझ कौतुहलता बढाउने संकेत दिएको हो ।
सिनेमाको सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति, देश प्रेम, सम्बन्धको जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । ‘बिगुल’को कथाकार र निर्माता दिनेश कोइराला हुन् । पछिल्लो समय बजारमा एकै खाले बिषयका बग्रेल्ती सिनेमा आइरहेको अवस्थामा ‘बिगुल’ले राजनीति, परिवार, समाज, सम्बन्ध अनि मनोरञ्जनको समिश्रणको कथा बुनेको छ ।
सिनेमाबाट दर्शकले मनोरञ्जनका साथ आफ्नो घर, समाज, देशमा के कस्ता घटना, राजनीति भइरहेको छ । त्यसबारेमा समेत जानकारी दिने बिश्वास निर्देशक कोइरालाको छ । यसअघि ‘मन मनमा’, ‘लीला’ र ‘नीरमाया’ सिनेमा निर्देशन गरेका निर्देशक कोइराला भन्छन्, ‘हरेक नागरिकलाई आफ्नो देश र समाजप्रति जिम्मेवार बनाउन सिनेमाले भूमिका खेल्न सक्छ ।’
कथाकार तथा निर्माता कोइरालाले ‘बिगुल’मा आफूहरुले उठाएको मुख्य मुद्धा र अहिले जेन्जी पुस्ताले राखेको माग, देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको बताए ।
जेन्जी आन्दोलनप्रति समर्पित गरिएको ‘बिगुल’मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा लगायतको अभिनय छ ।
म्याग्नोलिया ग्रुरुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमाको पटकथा तथा संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् ।
सूर्यकान्त कोइराला र महेश कोइराला सह–निर्माता रहेको सिनेमाको बितरण काफिया फिल्मस् र श्री ब्यांकटेस इन्टरटेन्मेन्टले गर्नेछन ।


प्रतिक्रिया