के भन्छन् ‘झरिपछिको इन्द्रेणी’का डेब्यु कलाकार विमोचन र जेसिका ?

के भन्छन् ‘झरिपछिको इन्द्रेणी’का डेब्यु कलाकार विमोचन र जेसिका ?


द सिनेमा टाइम्स, काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते रिलिज हुँदा दुईजना नयाँ कलाकारलाई नेपाली सिनेमा उद्योगले स्वागत गर्नेछ । विमोचन दवाडी र जेसिका पोखरेलले ‘झरिपछिको इन्द्रेणी’बाट सिने करियर सुरु गर्दैछन् ।

वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा ‘झरिपछिको इन्द्रेणी’लाई लिएर उनीहरू दुवै निकै उत्साहित छन् । यो सिनेमाबाट डेव्यु गरेका अभिनेता विमोचन दवाडी पनि ‘झरिपछिको इन्द्रेणी’ले आफूलाई नेपाली रजतपटमा स्थापित गर्नेमा विश्वस्त छन् ।

आफूले ‘झरिपछिको इन्देणी’मा गरेको मेहनत पर्दामा देखिने उनले बताएका छन् । ‘यो सिनेमा निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ,’ उनले भने, ‘जसले दर्शकको माउथ पब्लिसिटीले विस्तारै दर्शक बढ्दै जाने अपेक्षा छ । हाम्रो कुनै पनि मेहनतले फल पनि पाउँछ भन्ने लागेको छ ।’

यही सिनेमाबाट अभिनेत्री जेसिका पोखरेलले डेव्यु गर्दैछिन् । रिलिजका हिसाबले ‘झरिपछिको इन्द्रेणी’ पहिलो भएपनि कामका हिसाले उनको यो दोस्रो हो ।

उनले काम गरेको पहिलो सिनेमाको छायांकन अझै सकिएको छैन । । त्यसैले पनि ‘झरिपछिको इन्द्रेणी’बाट डेव्यु गर्न पाउँदा उत्साहित रहेको उनी बताउँछिन् ।

‘यो सिनेमाले मेरो करियरलाई सर्पोट गर्छ । सिनेमाले हाम्रो देशमा भदौ २३ र २४ गते जे भयो, त्यो हुनुभन्दा अगाडि नै स्कृप्ट लेखनसहित छायांकन समेत सकिएको थियो,’ उनले भनिन्, ‘उहाँहरुले पहिले नै फ्युचर थाहा थियो जस्तो लाग्छ । यस्तो पनि हुनेछ है खालको कन्टेक्स्ट नै लिएर बनाउँनु भएको थियो, त्यसैले पनि यो सिनेमाले दर्शकको मन जित्ने देखिन्छ ।’

यो सिनेमामा नयाँ र पुरानो पुस्ताका कलाकारहरूले सहकार्य गरेका छन् । अघिल्लो पुस्ताका कलाकार गणेश उप्रेती, रमेश उप्रेतीदेखि डेब्यु कलाकारसम्म यो एउटै सिनेमामा छन् ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

सिनेमामा गणेश र रमेश उप्रेतीसहित प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।