द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’को पहिलो गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको मर्मस्पर्शी गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतलाई देख्न सकिन्छ । परदेशिएको छोराको विलौना र आमाबुबाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ । बाबुल गिरीको शब्द रचना तथा संगीत रहेको यो गीतमा ‘नेपाल आइडल सिजन २’का विजेता रवी ओडको स्वर छ ।
सिनेमाकी मुख्य अभिनेत्री विपना थापाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियो शब्दबो भाव अनुसार नै निर्माण गरिएको छ । जहाँ सन्तानप्रतिको स्नेहको कथालाई सिनेमाले बोल्ने प्रष्ट छ । गीत रिलिज कार्यक्रममा सिनेमाका निर्देशक चन्द्र पन्तले यो आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।
‘यो मेरो ड्रिम प्रोजेक्ट हो’, उनले गीत रिलिज कार्यक्रममा भने, ‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौँ । आज यो टाइटल गीत ‘आ बाट आमा’ जनु मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम सिनेमाको मर्म हो भन्थेँ । सोही गीत आज हामीले रिलिज गर्यौं । आशा गछौँ, यो गीत सबैले मन पराइदिनु हुनेछ ।’ निर्देशक पन्तकै कथा तथा पटकथा रहेको सिनेमामा बेगम नेपालीको पनि अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको डिओपीमा नवराज उप्रेती, संगीतमा कोशिस क्षेत्री, थानेश्वर गौतम तथा कोरियोग्राफीमा गम्भिर बिष्ट र दिलिप ओखेडा छन् । यो सिनेमाको संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र निर्देशक पन्तले सहकार्य गरेका छन् । कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता तथा करण सिंह रसाली कार्यकारी निर्माता हुन् ।
यसअघि यो सिनेमाको टिजर तथा पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाइसकेको छ । नेपालमा सिनेमाको प्रदर्शन अधिकार आरआर फिल्मस् तथा डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको सिनेमा आगामी माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो सिनेमाको ट्रेलर तथा टिजर साहिल खानले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया