वर्षकै प्रतिक्षित सिनेमा ‘झरीपछिको इन्द्रेणी’ भोलिबाट हलमा, ‘परान’पछि सेलाएको बजार तताउने विश्वास

वर्षकै प्रतिक्षित सिनेमा ‘झरीपछिको इन्द्रेणी’ भोलिबाट हलमा, ‘परान’पछि सेलाएको बजार तताउने विश्वास


द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै प्रतिक्षित मध्येको एक सिनेमा ‘झरीपछिको इन्द्रेणी’ भोलि (शुक्रबार)बाट रिलिज हुँदैछ । अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको सिनेमालाई धेरै दर्शकले प्रतिक्षा गरेका छन् ।

समसामयिक विषयको उठान गरिनु, अग्रज र नयाँ पुस्ताका कलाकारको अभिनय रहनु, काठमाडौं महानगरका मेयर बालेन शाहको साथ रहनुले यो सिनेमालाई धेरैले प्रतिक्षा गरिरहेका छन् ।

अर्को महत्वपूर्ण कारण कमेडीको अपेक्षा पनि हो । कमेडी सिनेमा नआएको धेरै भइसक्यो । कमेडी पञ्चलाइनसहितको सिनेमा हेर्न नपाएका दर्शकले ‘झरीपछिको इन्द्रेणी’बाट यो अपेक्षा गरेका छन् ।

कमेडीबाट आएका कलाकार अर्जुन घिमिरेको निर्देशन र लेखन रहेकाले पनि यो सिनेमाले हसाउँछ भन्ने धेरै दर्शकले आशा गरिरहेका छन् । आफैँ पनि हास्य कलाकार भएर लामो समय काम गरेका अर्जुनले पञ्चलाइन राखेर सिनेमा बनाए भन्ने धेरैको अपेक्षा छ । उनी पाँडेकै लवजमा रहेकाले दर्शकले यो अपेक्षा गर्नु स्वभाविक पनि हो ।

मेयर बालेनको ओएसटी यो सिनेमामा छ । बालेनको साथ रहेकाले यसको असर पनि ‘झरीपछिको इन्द्रेणी’मा देखिन अपेक्षा हुनु स्वभाविक हो । सिनेमा ‘परान’पछि आएका सिनेमाले बक्स अफिसलाई खासै हिट सिनेमा दिन सकेका छैनन् । यो ग्यापलाई यसले पूरा गर्नेमा निर्माण टिमको पनि विश्वास छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।