द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने लभस्टोरी सिनेमा ‘कुमारी’को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक गरिएको छ । यो गीतमा केहर सिंह लिम्बुको स्वर तथा सुमन तामाङको शब्द रचना र सुमन र केहरको संगीत अनि अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको हो ।
यो गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढंगले उतारिएको छ । युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई जीवन्त र प्रभावशाली बनाएको छ ।
लभस्टोरी सिनेमाबाट चिनिएका दिनेश राउत निर्देशित ‘कुमारी’ भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुनेछ । यो सिनेमाले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ । सिनेमामा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय छ ।
‘आइ एम सरी‘, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता लभस्टोरी सिनेमा निर्देशनमा सफल निर्देशक दिनेश राउतले पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता सामाजिक विषयमा केन्द्रित रहेका थिए । उनी लामो समय पश्चात ‘कुमारी’मार्फत पुनः लभस्टोरी जनरामा फर्किएका हुन् । जसले पनि निर्देशक राउतबाट पछिल्लो समय एउटा सुन्दर लभस्टोरी सिनेमाको लामो प्रतिक्षा यो सिनेमाले मेटाउने अपेक्षा निर्माण टिमको छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् । केदार भुसाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा विकास सुवेदीले लेखेका छन् । सुसन प्रजापति छायांकन निर्देशक रहेको सिनेमामा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।
केन्द्र मोशन पिक्चर्स डिजिटल पाटर्नर रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डिसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन् । यो सिनेमाको पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।


प्रतिक्रिया