दयाहाङ, प्रकाश र सिर्जना फिचर्ड ‘मिरमिरे’को शिर्षक गीत सार्वजनिक

दयाहाङ, प्रकाश र सिर्जना फिचर्ड ‘मिरमिरे’को शिर्षक गीत सार्वजनिक

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मिरमिरे’को शिर्षक गीत सार्वजनिक गरिएको छ । अभिनेता प्रकाश सपूत र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ ।

सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम छ । एकले अर्कोलाई देखेपछिको आकर्षण छ । सुन्दरताले मोहित पारेको कथा गीतमा छ । युवकको हेराईले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु फिचर्ड छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ । यो गीतले सिनेमामा त्रिकोणात्मक प्रेमकथा रहेको संकेत गरेको छ । जुन सिनेमाको यसअघि सार्वजनिक टिजरमा देख्न सकिन्छ ।

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको टिजर दर्शकले रुचाएका थिए । टिजरमा बाबा र छोरीबीचको इमोस्नल दृश्य समेटिएको थियो । जहाँ मुख्य तीन पात्रको सम्बन्ध र नोकझोक पनि देखिन्छ । यो सिनेमामा बुवाको भूमिकामा दयाहाङ राई र छोरीको भूमिकामा शाइसा गौचनले छिन् ।

यार्सा फिल्मस्को प्रस्तुति रहेको सिनेमामा दयाहाङ, प्रकाश र सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता तथा सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर अनि कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको सिनेमामा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रकमा छन् । यो सिनेमाको देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले लिएको छ ।