माघ १ गते रिलिज हुने ‘गोबर गणेश’को शीर्षक गीत सार्वजनिक

माघ १ गते रिलिज हुने ‘गोबर गणेश’को शीर्षक गीत सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘गोबर गणेश’को शीर्षक गीत सार्वजनिक भएको छ । यो गीतमा निर्देशक बल्छी धुर्वेको स्वर र बाबुल गिरीको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले सिनेमाको कथा र त्यसको शैली पेश गरेको छ । गीतको भिडियो, शब्द र संगीतले सिनेमा कमेडी बेसमा निर्माण भएको प्रष्ट्याएको छ । सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाईमा कमजोर हुँदा पार्ने असरलाई देखाएको छ ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ अनि त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ । गम्भीर बिष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी, पुजन घिमिरे ‘पुकु’, पदम तामाङ र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

बल्छी धुर्वे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको सिनेमामा विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन तथा ओएसआर डिजिटल पाटर्नर रहेको सिनेमाको वितरण श्री ब्यांकटेस इन्टरटेनमेन्टले गर्नेछ ।