द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने लभस्टोरी सिनेमा ‘कुमारी’को प्रचारलाई लक्षित गर्दै देशका विभिन्न शहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ । यो सिनेमाको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन कन्सर्टको अवधारणा अघि सारेको हो ।
यो कन्सर्ट आगामी माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा हुने तालिका सार्वजनिक गरिएको छ । यी सवै कन्सर्टमा सिनेमाका गायक केहरसिंह लिम्बुको ब्याण्ड ‘केहर एन्ड द लुङा’ले आफ्नो लाइभ प्रस्तुति दिनेछ । केहर र उनको ब्यान्ड युवापुस्तामाझ लोकप्रिय छ । यो सिनेमामा समावेश उनका गीत दर्शकमाझ लोकप्रिय बन्दै गइरहेका बेला कन्सर्टले सिनेमाप्रति उत्साह बढाउने अपेक्षा गरिएको छ ।
सिनेमाका यसअघि सार्वजनिक दुई गीतहरू ‘कता छौ’ र ‘तिमी बिना’ सार्वजनिक भइसकेका छन् । कन्सर्ट सुरु हुनु अगावै लोक लयमा आधारित रहने अर्को गीत पनि सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरेको छ । यी सबै गीतमा केहरसिं लिम्बुको स्वर छ ।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक सिनेमा निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘कुमारी’ भ्यालेन्टाइन डेको आसपास रिलिज हुन लागेको छ । त्यसैले सिनेमाले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ । सिनेमामा अविषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् । केदार भुसाल कार्यकारी निर्माता रहेको सिनेमाको कथा विकास सुवेदीले लेखेका छन् । सुशन प्रजापति छायांकन निर्देशक, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको सिनेमाको डिजिटल वितरक केन्द्र मोसन पिक्चर्स हो ।


प्रतिक्रिया