साइकोलोजिकल थ्रिलर ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक

साइकोलोजिकल थ्रिलर ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सिनेमाको १ मिनेट २४ सकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

सिनेमाको सार्वजनिक टिजर अभिनेता महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु भएपछि लभ, रोमान्स, प्रतिशोध, हत्या र कानुनी फन्दाको सस्पेन्स देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहे टिजरमा देख्न सकिन्छ ।

प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र कलरले सिनेमाको टोन देखाएको छ । टिजरले थ्रिल महसुस गराउने प्रयास गरेको छ । निर्माण टिमले टिजरसहित सिनेमाको नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ । यसअघि मंसिर १२ बाट पौषमा पुगेको सिनेमा अव माघ १६ गतेबाट देशव्यापी रिलिज हुनेछ ।

यो सिनेमाको कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल हुन् । यो सिनेमाबाट बेनिशा निर्माता र डिजिटल राइट्स् क्रेता पनि बनेकी छन् । बलिराम चौहानको डेव्यु निर्देशन रहेको ‘द ब्ल्यू लाइट’मा बेनिशा र महेशसहित अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी र बाल कलाकार ग्रिष्मा कटुवाल र सहारा शर्माको अभिनय छ ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘द ब्ल्यू लाइट’को को-प्रोड्युसरमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक आकाश उखेडा, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।