‘झरिपछिको इन्द्रेणी’ हेर्नेजतिले राम्रो भने, तर किन पाएन शो ?

‘झरिपछिको इन्द्रेणी’ हेर्नेजतिले राम्रो भने, तर किन पाएन शो ?


द सिनेमा टाइम्स, काठमाडौं । ‘झरिपछिको इन्द्रेणी’ हेर्ने कलाकारले सिनेमालाई राम्रो भने । राजनीतिज्ञदेखि अन्य क्षेत्रका दर्शकले पनि सिनेमा राम्रो बनेको भने । देशको विद्यमान राजनीति, सुशासन र भ्रष्टाचारको विषय उठान गरेको भन्दै तारिफ गरे ।

सिनेमा हेर्न हल पुगेका दर्शकले पनि सिनेमा राम्रो रहेको बताए । उनीहरूले त सिनेमा छुटाउनै नहुने भन्दै हेर्नै पर्ने बताए । बुवा र छोरा सँगै बसेर सिनेमा हेर्नुपर्ने बताए । हरेक राजनीतिज्ञ र उसको परिवारले सिनेमा हेर्नै पर्ने ‘झरिपछिको इन्द्रेणी’ हेर्ने दर्शकले आग्रह गरे । देश छोड्नुको विकल्प नरहेको भन्दै विदेश जान मरिहत्ते गर्नेहरूले पनि सिनेमा हेर्नै पर्ने बताए ।

‘झरिपछिको इन्द्रेणि’को विषय पनि राम्रो रहेको हेर्नेहरूले भनाइ रह्यो । हेर्नेजतिले कलाकारको अभिनयको पनि तारिफ गरे । त्यसैले सुरुमा धेरै शो नपाए पनि दर्शकको फ्लो बढेपछि हलले सिनेमाको शो बढाउनेमा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ढुक्क थिए ।

तर, शो बढेन, झन् झन् घट्दै गयो । भएको शो पनि अफ टाइमको थियो भन्ने निर्देशक पाँडेको गुनासो छ । उनले कम्तीमा एउटा हलमा बिहान र बेलुकाको शो दिनु पर्ने बताइरहेका छन् । त्यसो भए दर्शकले चाहेको समयमा सिनेमा हेर्न पाउने उनको भनाइ छ ।

सिनेमाका पाएको शोमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको भन्दै पाँडेले नेपाली सिनेमालाई नहेप्न चेतावनी दिएका छन् । नेपालमा नेपाली सिनेमा नै हेपिएको अवस्थामा रहेको भन्दै यस्तो अवस्था हट्नु पर्ने उनको माग छ ।

दर्शकको सकारात्मक वर्ड अफ माउथ पाइरहँदा ओसत समीक्षा पाएकाले आफ्न सिनेमालाई हेप्न नहुने उनको धारणा छ ।

नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।

यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि दमदार कमव्याक गरेका छन् । उनले अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गरिरहेको छ ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिएका छन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।