आर्यन र करुणाको म्युजिकल सिनेमा ‘बानी’ सार्वजनिक

आर्यन र करुणाको म्युजिकल सिनेमा ‘बानी’ सार्वजनिक

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा चकलेटी अभिनेताका रूपमा परिचित आर्यन सिग्देलको म्युजिकल सिनेमा ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनय मात्र होइन तथा भावनात्मक अभिव्यक्तिमा केन्द्रित भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो । भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएका छन् । नेपालको एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ । जहाँ प्रेमपछि आउने उतार-चढाव र बियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ।

म्युजिक भिडियोमा आर्यनलाई फरक लुक्समा देख्न सकिन्छ । उनी रिशाहा र मायालु दुबै लुक्समा देखिएका छन् । यसअघि सार्वजनिक पोस्टर र टिजरले चासो बढाएको ‘बानी’मा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन् । आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई थप जीवन्त बनाएको छ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुब्रत आचार्यको निर्देशनमा तयार ‘बानी’लाई एउटा प्रेमकथामात्र नभई भावनात्मक म्युजिकल अनुभवका रूपमा प्रस्तुत गरिएको छ।