द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल अभिनित सिनेमा ‘प्रवासी जीवन’को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने सिनेमाको सार्वजनिक टिजरमा महानायक हमाल, सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ, दिव्या न्यौपाने लगायत फिचर्ड छन् ।
नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङघर्ष सहितको प्रवासी जीवनको कथा बोकेको सिनेमालाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।
सार्वजनिक टिजर निर्देशकसमेत कलाकार क्षेत्रीबाट सुरू हुन्छ, जहाँ उनले आफ्नो बारेमा कसैलाई जानकारी दिईरहेका छन् । प्रवासीहरूको दुःख, आरोह अवरोह र चुनौतीहरूलाई उनले बताउदै गरेको टिजरमा सिनेमाका अधिकाँस कलाकारलाई स्थान दिईएको छ । प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए ।
उनले भने,’हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे-वास्ता गर्छौं । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ । फिल्मले प्रवासी जीवनको एउटा नदेखिएको सरल झैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ ।’
मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर सिनेमा तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने उनले बताए । सिनेमामा महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपालको सहकार्यसमेत रहेको सिनेमाको सम्पूर्ण छायाङकन अमेरिकाको रमणीय दृश्यमा गरिएको छ । छायाँकार समेत रहेका निर्माता रविन आचार्य सिनेमाका निर्माता हुन् । श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको सिनेमाको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
यसमा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व संगीत, देवी खतिवडाले शृङगार, राज शङकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले संगीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दाससहितका गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया