द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रेम कथानक सिनेमा ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एका कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो।
यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो। सार्वजनिक गरिएको ‘डोको बुन्ने’ गीतमा गायक केहर सिंह लिम्बुको स्वर तथा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन्।
सुमन र केहरले नै संगीत भरेको गीतमा रिकेश गुरुङको अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ । गीतले नवयुवाहरुबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।
यो गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफ्ना सफल प्रेम कथानक सिनेमाहरू ‘आई एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ सम्झना गर्दै ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सामाजिक विषयका सिनेमा पछि आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए ।
निर्देशक राउतले ‘डोको बुन्ने’ गीतले सिनेमाको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे । लेखक विकास सुवेदीले यो गीतले सिनेमाको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।
कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले यस सिनेमाबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए । सिनेमाको टिम र स्क्रिप्टले तानेपछि आफूले डेब्युको लागि यो सिनेमा रोजेको अभिनेत्री राजभण्डारीले बताइन् । यता, अभिनेता खड्काले सिनेमाप्रति आफ्नो आकांक्षा सानैदेखि रहेको र सोही अनुरूप सिनेमामा अभिनय गरेको बताए ।
कार्यकारी निर्माता केदार भुसालले ‘भ्यालेन्टाइन डे’को छेको पारेर रिलिज हुन लागेको सिनेमाले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे। सिनेमामा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतका कलाकारको अभिनय छ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको सिनेमाका निर्माता महेन्द्र अधिकारी तथा कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेको सिनेमाका छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।
सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको सिनेमाको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।



प्रतिक्रिया