अर्बपति उद्योगी विनोद चौधरीले ‘झरीपछिको इन्द्रेणी’ हेरेर भने- यो सिनेमा सबैलाई देखाउनुपर्छ

अर्बपति उद्योगी विनोद चौधरीले ‘झरीपछिको इन्द्रेणी’ हेरेर भने- यो सिनेमा सबैलाई देखाउनुपर्छ


द सिनेमा टाइम्स, काठमाडौं । अर्बपति उद्योगी विनोद चौधरीले सिनेमा ‘झरीपछिको इन्द्रेणी’को खुलेर प्रशंसा गरेका छन् । बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा  सिनेमा हेरेका चौधरीले सुरुदेखि अन्तिमसम्म बाँधेर राख्ने बताएका छन् ।

इमान्दार कर्मचारी कसरी भ्रष्टाचारीको फन्दामा पर्छ, भ्रष्टचार नियन्त्रण कसरी गर्नेजस्ता महत्वपूर्ण विषय सिनेमाले उठाएको भन्दै उनले तारिफ गरे ।

युवामा कसरी परिवर्तन आउँछ, उसले कसरी देशलाई नै परिवर्तन गर्नसक्छ भन्ने कुरा सिनेमा रहेको र त्यो आफूलाई मन परेको उद्योगी चौधरीले बताए ।

‘यसमा जसरी जेनजीलाई प्रस्तुत गरिएको छ, त्यो नै जेनजी हो भन्ने कुरालाई व्यापक बनाउनुपर्छ,’ उनले भने, ‘कताकता जेनजीको मुभमेन्टलाई विथोल्ने पनि जन्मिए, त्यसको म आफैँ पीडित हुँ ।’

‘झरिपछिको इन्द्रेणी’ हेर्दा आफूले पनि संलग्न भएको सिनेमा ‘बासुदेव’को सम्झना भएको बताए ।

‘हामीमा विदेश जाने, विदेशमा सबैथोक हुुन्छ भन्ने मानसिकता छ । यता परिवार घरमा हुन्छ । घरमै बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश मनपर्यो,’ उनले भने, ‘धेरै कुरा समेट्नु भएको छ । हरेक कलाकारको एक्टिङ मलाई मनपर्यो ।’

सबैले हेर्नुपर्ने सिनेमा बनेको भन्दै उनले भने, ‘यो सिनेमा सबैलाई देखानुपर्छ । यस्तै काम गर्दै जानुस्, शुभकामना छ ।’

उनले आफूले सिनेमा बनाउने सम्भावना रहेको बताए । आफूले पहिला पनि सिनेमा बनाएको र एकपटक सिनेमा बनाएपछि त्यसको सधैँ माया हुने बताए । आफू सिनेमा क्षेत्र कर्पोरेटाइज हुनुपर्ने धारणा राख्दै आएको उनले बताए ।

नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।

सिनेमामा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।