रोशन दास निर्देशित ‘प्रतिवैरम्’को एक्सन प्याक टिजर सार्वजनिक

रोशन दास निर्देशित ‘प्रतिवैरम्’को एक्सन प्याक टिजर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रोशन दासको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रतिवैरम्’को एक्सन प्याक टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ३० सेकेन्ड लामो टिजरले मधेस केन्द्रित सामाजिक तथा राजनीतिक कथावस्तु देखाएको हो ।

सिनेमाको सार्वजनिक टिजरले एक्सन र मधेशमा हुने अपराधको झल्को दिन्छ । यो टिजरमा दाइजो प्रथा र दाजु बहिनीको सम्बन्ध पनि देखाउन खोजिएको छ । यी सबै दृश्यहरुले गर्दा सिनेमा राम्रो बनेको अनुमान गर्न सकिन्छ । टिजरमा मुख्य अभिनेता सम्राट दास प्रभावशाली भूमिकामा देखिएका छन् । निर्देशक रोशनका अनुसार ‘प्रतिवैरम्’ सम्राटको डेब्यु सिनेमा भएपनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक छ ।

सिनेमामा सम्राटसहित सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बीके, बिके शाह, रामेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ । सिनेमाको एक गीतमा अभिनेत्री प्रिंयका कार्की पनि विशेष भूमिका देखिनेछिन् ।

रेज इन्टरटेनमेन्टले किङ वाईटीको सहकार्यमा निर्माण गरेको सिनेमाका प्रोडक्सन म्यानेजर कमल सुनार तथा लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन् । सिनेमाको सम्पादन कविर वोडले गरेका हुन् । सिनेमाको सह-निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल छन् ।

निर्देशक रोशन दासले मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक-राजनीतिक समस्यालाई यथार्थपरक ढंगले देखाउने उद्देश्यले ‘प्रतिवैरम्’ निर्माण गरिएको बताए । सिनेमाले मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकले महसुस गर्न पाउने दाबी निर्देशक दासको छ । सिनेमाको कथा निर्देशक दास स्वयंम् र पटकथा युवराज भट्टराईले लेखेका हुन् ।

नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको सिनेमा ‘प्रतिवैरम्’ आगामी वर्ष २०८३ को जेठ महिनामा प्रदर्शनमा आउनेछ ।