द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको फागुन १३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ पुरा सिनेमा युट्युबमा रिलिज गरिएको छ । बिहीबार परेको अग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिनेमाको डिजिटल पाटर्नर बुढासुब्बा डिजिटलले फेरि रेशम फिलिली युट्युबमा रिलिज भएको हो ।
दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमालाई समाजिक सञ्जाल युट्युबमा अझै राम्रो प्रतिक्रिया मिल्ने अपेक्षा निर्माण टिमको छ । धेरै भन्दा धेरै दर्शकले सिनेमा हेरुन भनेर सार्वजनिक प्रदर्शनमा आएको करिब एक वर्ष पुग्नै लाग्दा युट्युबमा सार्वजनिक गरिएको निर्माता रौनक विक्रम कडेल बताउँछन् ।
अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको सेरोफेरोमा घुमेको ‘फेरि रेशम फिलिली’ले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिन्छ । झण्डै १० वर्ष अगाडि रिलिज भएको सिनेमाको यो नयाँ सिक्वेलले उस्तै कमेडीको तड्का दिने सिनेमाले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि सरप्राइज बनेको थियो ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।


प्रतिक्रिया