‘भाईरल गोर्खे’को ट्रेलरमा समावेश संवादमा टिकटक र रिल्स कन्टेस्ट घोषणा

‘भाईरल गोर्खे’को ट्रेलरमा समावेश संवादमा टिकटक र रिल्स कन्टेस्ट घोषणा

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को गत बुधबार ट्रेलर सार्वजनिक गरिएको थियो । यो सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै त्यसमा समावेश संवादमा टिकटक तथा रिल्स कन्टेस्ट घोषणा गरेको हो ।

शुक्रबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको सार्वजनिक ट्रेलर र टिजरमा समावेश संवादमा टिकटक र रिल्स बनाउने उत्कृष्ट १० जनाले प्रिमियर शोमा मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै बसेर ‘भाईरल गोर्खे’ हेर्न पाउनेछन् । त्यसको लागि टिकटक र रिल्स बनाउनेले अनिवार्य #ViralGorkhey राखेर प्रोफाइलमा सेयर गर्नुपर्ने छ ।

ती मध्ये सर्वाधिक भ्युज र लाइक पाउने १० भिडियोलाई छनोट गर्दै प्रिमियर शोको पास उपलब्ध गराइने निर्देशक निगम श्रेष्ठले बताए । सिनेमाको सार्वजनिक ट्रेलर हाल युट्युबको ट्रेन्डिङ सेक्सन अर्न्तगत मूभिज सेक्सनको तेस्रो नम्बरमा छ । अहिलेसम्म ट्रेलरलाई एक लाख पन्ध्र हजार बढि भ्युजसहित ५ हजार बढि लाइक र दुई सय पचार बढि प्रतिक्रिया मिलेको छ । यी प्रतिक्रिया मध्ये अधिकांशले सिनेमाको कथावस्तुको तारिफ गर्दै सिनेमा हेर्न आतुर रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कत सिनेमाको ट्रेलरमा समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । सौगातले सिनेमामा एक्सन स्टार शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेको पात्रले समाजिक टिकटकमा धेरै भ्यूज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्दा चर्चित हुन्छ । जसले सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा हुर्किएको प्रवृत्तिलाई व्यंग्य र प्रश्न गर्नेछ ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घरघरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।