यमनले गाएको ‘आ बाट आमा’को नेवारी गीत सार्वजनिक

यमनले गाएको ‘आ बाट आमा’को नेवारी गीत सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको सिनेमा ‘आ बाट आमा’मा समावेश नेवारी गीत सार्वजनिक भएको छ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको सिनेमाको शीर्ष गीत ‘लैजा खबर ए हावा’लाई निर्माण पक्षले नेवारी भाषामा रेकर्ड गराएर सार्वजनिक गरेको हो ।

यो गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले स्वर दिएका छन् । उनी चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । संगीतकार बाबुल गिरीको शब्द रचना रहेको गीतलाई नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागेको यमनले बताए । गीतको शब्दलाई नेवारी भाषामा अनुवाद गर्न बुबाले सघाएको बताउँदै उनले भने, ‘गीतको नेवारी शब्द पनि आफैंले मिलाउनुपर्ने भएपछि मैले बुबालाई अनुवाद गर्न आग्रह गरेको थिएँ । गीतलाई बुबाले नेवारी भाषामा बनाइदिनुभएको हो ।’

नेपाली भाषामा यो गीतलाई ‘नेपाल आइडल सिजन २’का विजेता रवि ओडले गाएका छन् । गीतले सन्तानप्रति आमाको माया, समर्पण र लगावलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ । निर्माण पक्षले यस गीतमा गायन र अभिनयसम्बन्धी प्रतियोगिताको समेत घोषणा गरेको छ । यो गीतमा कभर गाउने र अभिनय गर्नेले ५० हजार नगद पुरस्कार पाउने जनाइएको छ ।

आमा-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित सिनेमा आगामी माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । सिनेमामा विपना थापा, प्रदीप रावत, पल शाह, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दीलिप उखेडा, रचना गौतम लगायतको अभिनय रहेको छ ।

ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना निर्माता तथा करण सिंह रसाइली सिनेमाका कार्यकारी निर्माता हुन् ।