गरिमा शर्माको हिन्दी म्युजिक भिडियो ‘पेहली नजरकी रानी’ सार्वजनिक

गरिमा शर्माको हिन्दी म्युजिक भिडियो ‘पेहली नजरकी रानी’ सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री गरिमा शर्माले अभिनय गरेको हिन्दी भाषाको नेपाली म्युजिक भिडियो ‘पेहली नजरकी रानी’ सार्वजनिक गरिएको छ । महंगो लागतमा तयार भएको भनिएको यो भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी गरेका थिए । हालको विनिमय दर अनुसार यो रकम नेपाली रुपैयाँमा झण्डै ७५ लाख हुन आउँछ ।

अमेरिकाका विभिन्न मनोरम लोकेशनमा छायांकन गरिएको भिडियोमा एक जोडीको सुन्दर प्रेम कहानी समेटिएको छ । गरिमा र रोशनलाई प्रेमिल मुद्रामा फिचर्ड गरिएको भिडियोको मेकिङ उच्च देखिन्छ । भिडियोमा कैद भएका दृश्य र गीतका शब्दले एक प्रेमीले प्रेमिकाप्रति देखाउने प्रेम भाव प्रकट गर्छ ।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा मोडल स्वंयम अधिकारीले नै तयार गरेका हुन् । सुमन लामिछानेको कोरियोग्राफीमा तयार भिडियोमा सम्पादन विवेक सुनारको छ भने कलरिङ मिलन विश्वकर्माको छ । अमृत विश्वले छायांकन गरेको भिडियो शान थापाको कन्सेप्टमा सिद्धार्थ विश्वले निर्देशन गरेका हुन् ।

नेपालबाट म्युजिक भिडियो छायांकनकै लागि अमेरिका पुगेकी अभिनेत्री शर्माले अनुभवी र राम्रो टिमअपबाट उत्कृष्ट रिजल्ट निस्केको बताइन् । नेपाली गीत संगीत र मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको भन्दै गायक मोडल तथा संगीतकार अधिकारीले आगामी दिनमा निरन्तर लागि रहने बताए ।