राजनीतिक र सामाजिक कथामा ‘बिगुल’को ट्रेलर सार्वजनिक

राजनीतिक र सामाजिक कथामा ‘बिगुल’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । देशको समसामयिक राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर निर्माण भएको सिनेमा ‘बिगुल’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा विकृत राजनीतिले जनतामा छाएको चरम निराशा, युवापुस्ताको आक्रोश, पारिवारिक उल्झन, दुई पुस्ताबीचको वैचारिक मतभेद, सामाजिक न्याय जस्ता विषयलाई प्राथमिकताका साथ देखाइएको छ ।

आइतबार सार्वजनिक ट्रेलरमा अभिनेत्री बेनिशा हमालको एउटा संवाद छ, ‘क्रान्ति जहाँबाट पनि सुरु हुन्छ । जबसम्म हामी जनताको पीडा सुन्दैनौं, क्रान्ति गर्न सक्दैनौं ।’ यो संवादले देशमा परिवर्तनका लागि जनताले गर्ने विद्रोहलाई सिनेमाले मुख्य कथावस्तु बनाएको प्रष्ट संकेत गर्छ । देश निर्वाचनको संघारमा रहँदा सार्वजनिक भएको ट्रेलरले दर्शकमा सही नेतृत्व चयन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

रमेश कोइरालाको निर्देशनमा बनेको सिनेमामा बेनिशासहित रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय देख्न सकिनेछ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा दिनेश कोइरालाको कथा तथा निर्माण र कल्पना पौडेल प्रस्तुतकर्ता तथा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्मातामा छन् ।

आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमामा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।