द सिनेमा टाइम्स, काठमाडौं । सुदिप्ताको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको ‘रमिताको पिरती’को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक भएको छ । आगामी माघको २३ गतेबाट प्रदर्शनमा आउने सिनेमाको सोमबार दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । सिनेमाको यो गीतमा अस्मिता अधिकारीले पनि गायनमा साथ दिएकी छिन् । रोमान्टिक शैलीको गीतमा सिनेमाका मुख्य २ कलाकार आना शर्मा र विनय श्रेष्ठलाई देख्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आनाले नमानेको दृश्यलाई देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवाती चरणमा गीतलाई बुनिएको वुझ्न सकिन्छ ।
सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा धिरज मगर, समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारको अभिनय छ । सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत सिनेमामा समावेश छ ।
अभिनेत्री आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने सिनेमाका एसोसियट निर्माता हुन् । यो सिनेमामा शिशिर बिशंखेको डीओपी, साहिल खानको ट्रेलर र टिजर सम्पादन छ ।
सुनिल सिभाकोटीको सम्पादन रहेको सिनेमाको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । यो सिनेमाले एक यूवतीको प्रेम भावनालाई सुक्ष्म रुपमा देखाइएको निर्माणपक्षको भनाई छ ।


प्रतिक्रिया