द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट सिनेमा ‘भाईरल गोर्खे’ देशव्यापी प्रदर्शनमा आउँदैछ । यो सिनेमामा अभिनेता सौगात मल्लले ‘गोर्खे’ र सृष्टिले ‘मिस गीताञ्जली’को भूमिका निवार्ह गरेका छन् । सोमबार राजधानीको एक रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यी दुवै कलाकार सिनेमालाई लिएर उत्साहित देखिए ।
सौगात र सृष्टिले लामो ग्यापपछि एकसाथ काम गरेकाले पनि यो सिनेमा दर्शकका लागि खास बन्ने देखिन्छ । सिनेमाकी मुुख्य अभिनेत्री सृष्टि अर्थात् मिस गीताञ्जली पनि सिनेमाको कथावस्तु र क्यारेक्टरले दर्शकलाई हलसम्म ल्याउनेमा विश्वस्त देखिन्छिन् । सोमबारको पत्रकार भेटघाटमा उनले ‘भाईरल गोर्खे’मा आफु टिकटक स्टारको भूमिकामा देखिएको खुलाइन् ।
उनले भनिन्, ‘भाईरल गोर्खेमा मिस गीतञ्जलीको पात्र निवाह गर्न अर्की टिकटकर पवित्रा साकी (मिस पवी)को रिफरेन्स लिएर उनका थुप्रै टिकटक भिडियो हेरेकी थिइन् । अनि निर्देशक निगम श्रेष्ठले पनि यस्तै खाले भनेर मिस पवीको भिडियो नै देखाएका थिए । पछि उहाँ पनि यो सिनेमामा एक विशेष भूमिकामा जोडिनु भयो । त्यसले अझै रमाइलो लागेको थियो । तर, सिनेमामा समावेश ‘बतासले उडाइ ल्यायो माया मेरो’ गीतमा सृष्टिले चर्चित अभिनेत्री कृष्टी मैनाली जस्तै बन्न प्रयास गरेकी छिन् ।’
उनले अगाडी भनिन्, ‘मलाई पहिलेदेखि नै निगम दाई स्टोरी टेलिङ मन पथ्र्यो । अनि एकदम युनिक पनि लाग्थ्यो । उहाँले अलिकति डिफरेन्ट बाटोबाट कथा भन्ने स्टाइल छ । त्यो फरक पनि लाग्छ । उहाँको पहिलो सिनेमा ‘छड्के’ पनि हेरेको हो । त्यसैले ‘भाईरल गोर्खे’को कथा आउने बित्तिकै कस्तो रिलेभेन्ट र अहिलेको समय सान्दर्भिक लाग्यो । सरप्राइजली यो विषयमा सिनेमा बनेकै पनि रैनरैछ भन्ने पनि क्लिक भयो । कमेडी अनि रमाइलो खाले लाइट हार्टेड सिनेमा गर्न मन थियो । त्यही वेलामा यो सिनेमा आयो मेरो क्यारेक्टर फरक भएकाले काम गर्न तयार भए ।’
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।
‘भाइरल गोर्खे’ निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।


प्रतिक्रिया