द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट २ सकेण्ड लामो ट्रेलरमा बाबु छोरीबीचको मर्मस्पर्शी सम्बन्धको कथा देखाइएको छ ।
श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति रित्तो हुन्छ भन्ने ट्रेलरमा देखाइएको छ । त्रिकोणात्मक प्रेमकथा रहेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा छ । आमाले छोडेर गएपछि छोरीले गरेको अभावको महसुस देखाइएको ट्रेलरले छोराछोरीका लागि आमाको महत्व कति छ भन्ने प्रष्ट पारेको छ ।
ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचनलगायत कलाकार देख्न सकिन्छ । दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । आमाको अभाव महसुस गरिरहेकी छोरीलाई कसरी मातृत्व प्रदान गर्ने भन्ने दयाहाङको प्रयास छ । यसले दर्शकलाई भावुक बनाउँछ ।
यार्सा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा दयाहाङ, प्रकाश, सिर्जना, र शाइसासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । सिनेमामा यम शेर्पाको लेखन तथा निर्देशन छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता तथा गोविन्द बोहरा, सुदिप कुँवर सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता वितरक रोहित कट्टेल अनि वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् । सिनेमामा आलोक शुक्लाको छायांकन, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।



प्रतिक्रिया