यशको जन्मदिनमा ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक

यशको जन्मदिनमा ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कन्नड सुपरस्टार अभिनेता यशको जन्मदिनको अवसर पारेर सिनेमा ‘टक्सिक’को परिचयात्मक टिजर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक सिनेमाको २ मिनेट २५ सकेण्ड लामो टिजरले यशको चरित्र चित्रण गरिएको छ । यो टिजरमा यशको पात्रको नाम ‘राय’ रहेको बुझिन्छ ।

समर्वननिक टिजरमा यशलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । यसमा उनको ‘बोल्ड सिन’ पनि समावेश छ । टिजरको सुरुवात समाधि स्थलबाट हुन्छ । जहाँ एक पात्र उच्च सुरक्षाबीच कसैलाई श्रद्धाञ्जली दिन पुगेका छन् । त्यही बेला यश सवार गाडी नियोजित रुपमा रुखमा आएर ठोकिन्छ । गाडीभित्रै एक युवतीसँग रोमान्स गरिरहँदा समाधि स्थलमा विस्फोट हुन्छ । त्यसपछि हातमा मेसिन गन लिएर सिगार तान्दै यशले संवाद बोलेका छन्, ‘ड्याडिज् होम’ ।

सार्वजनिक टिजरको सबैभन्दा सशक्त पक्ष यसको प्रभावशाली ब्याकग्राउन्ड स्कोर र भव्य दृश्य प्रस्तुति देखिन्छ । जसले दर्शकमा सिनेमाप्रति उत्सुकता र थ्रिल महसुस गराउँछ । यशको लुक्स ‘केजीएफ’ श्रृंखलाको भन्दा फरक देखिँदैन । उनी लामो दाह्रीसहित प्रस्तुत छन् । टिजरले उनको पात्र सन्की र हिंसक स्वभावको रहेको प्रस्ट पार्छ ।

सिनेमाको लेखक तथा निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको सिनेमालाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । उनले यसअघि हिन्दी सिनेमा ‘लायर्स डाइस’ र मलयालम सिनेमा ‘मूथोन’ निर्देशन गरेकी थिइन् । उनले ‘लायर्स डाइस’बाट सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार समेत उचालेकी थिइन् ।

केभिएन प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा यशसहित नयनतारा, हुमा कुरेसी, कियारा आडवाणी, तारा सुतारिया, रुक्मिणी वसन्त, अक्षय ओबराय र सुदेव नायरको अभिनय छ । आगामी मार्च १९ बाट ‘टक्सिक’ हिन्दी, कन्नड, मल्यालम, तमिल, तेलुगु र अंग्रजीसहित ६ भाषामा विश्वव्यापी रिलिज हुँदैछ ।