‘कुमारी’ले देशव्यापी लाइभ म्युजिकल कन्सर्ट, काठमाडौंको भृकुटीमण्डपमा ट्रेलर रिलिज गर्ने

‘कुमारी’ले देशव्यापी लाइभ म्युजिकल कन्सर्ट, काठमाडौंको भृकुटीमण्डपमा ट्रेलर रिलिज गर्ने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी सिनेमा ‘कुमारी’को प्रचारका लागि सिनेमा र लाइभ संगीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ ।

बिहीबार साँझ काठमाडौंमा पाश्र्व गायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एण्ड द लुङा’ले सिनेमाका गीतमा प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै यसबारेमा जानकारी गराइएको हो । बिग मार्टको प्रस्तुतिमा आयोजना हुने यो प्रमोशनल टुर देशव्यापी सञ्चालन हुनेछ । जहाँ ब्याण्डसहित सिनेमाका मुख्य कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउतसहितको समुह रहनेछ ।

सिनेमा ‘कुमारी’को सांगीतिक आत्माका रूपमा स्थापित यो ब्याण्डलाई केन्द्रमा राख्दै नेपालगञ्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ । जसअन्तर्गत माघ १ गते नेपालगञ्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ । काठमाडौंको कन्सर्टमै ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने आयोजक टिमले जनाएको छ ।

अहिले सिनेमाको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ । यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा संगीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ । बिहीबारको कार्यक्रममा केहरले ‘डोको बुन्ने’ र ‘कता छौ मेरो फूल’ प्रस्तुत गरेका थिए ।

सिनेमा ‘कुमारी’लाई नेपाली प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ । देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत सिनेमा र संगीतलाई उत्सवमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको निर्देशक दिनेश राउतले बताए ।

सिनेमामा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायतका कलाकारको अभिनय छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको सिनेमाका निर्माता महेन्द्र अधिकारी तथा कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेको सिनेमाका छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।

सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।