माघ ९ गते रिलिज हुने ‘बिगुल’को गीत ‘वनको कोइली वनैमा रमायो’ सार्वजनिक

माघ ९ गते रिलिज हुने ‘बिगुल’को गीत ‘वनको कोइली वनैमा रमायो’ सार्वजनिक

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गते रिलिज हुने सिनेमा ‘बिगुल’को तेस्रो गीत ‘वनको कोइली वनैमा रमायो’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक लोक फ्लेवरको गीतमा मनोज चौलागाईको शब्द तथा संगीत र मनिष चौधरी र शान्तिश्री परियारको स्वर छ ।

कमल राईको कोरियोग्राफी रहेको गीतमा यशराज गराच र ऋचा थापा फिचर्ड छन् । उनीहरु सिनेमाको यही गीतमा विशेष भूमिकामा देखिनेछन् । देशको समसामयिक राजनीतिक र सामाजिक विषयमा केन्द्रित रहेर निर्माण भएको सिनेमा ‘बिगुल’का यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।

यो सिनेमाका निर्माता तथा कथाकार दिनेश कोइराला हाल एक्लै सिनेमाको प्रचारका लागि देश दौडाहामा छन् । देशमा परिवर्तनका लागि जनताले गर्ने विद्रोहलाई सिनेमाले मुख्य कथावस्तु बनाएको प्रष्ट संकेत गर्छ । देश निर्वाचनको संघारमा रहँदा सार्वजनिक भएकाले सिनेमाका प्रचार सामाग्रीले दर्शकमा सही नेतृत्व चयन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

मेश कोइरालाको निर्देशनमा बनेको सिनेमामा बेनिशासहित रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय देख्न सकिनेछ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा दिनेश कोइरालाको कथा तथा निर्माण र कल्पना पौडेल प्रस्तुतकर्ता तथा सूर्य कान्त कोइराला र महेश कोइराला सह-निर्मातामा छन् ।

आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमामा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।