द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको करिब ३ मिनेट लामो एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाको सार्वजनिक ट्रेलरमा एक्सन-सस्पेन्स कथावस्तु, एक्सनका दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ । अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ । उनी प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी छन् ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको सिनेमाको निर्देशन विजय केरुङले गरेका हुन् । दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् ।
निर्देशक विजय केरुङले सिनेमाले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । ‘सिनेमाको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो । एक्सनसहित सामाजिक सन्देश पनि बोकेको सिनेमाले दर्शकलाई बाँध्ने विश्वास छ,’ उनले भने । सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भन्ने कथालाई सिनेमाको पर्दामा देखाइएको छ ।
सिनेमामा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको छ । यसअघि सार्वजनिक पोस्टर र टिजर अनि ‘पाकेको चिउरी’बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको थियो । यो सिनेमालाई आरआर फिल्म्सले वितरण गर्दैछ ।


प्रतिक्रिया