द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘द ब्ल्यू लाइट’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार अभिनेत्री बेनिशा हमालले सञ्चालनमा ल्याएको मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत सिनेमाको पहिलो गीत ‘कुन हावाले’ सार्वजनिक भएको हो ।
सितुस्मा अधिकारीको शब्द रचना तथा एसडी योगीको संगीत र सलिना बिकेको स्वर सार्वजनिक गीतमा सुन्न सकिन्छ । सपना साकार हुन नपाउँदै भत्किएको संसार गीतमा सुन्न सकिन्छ । वाचा बाँधेर पूरा नगरी हिँड्नेहरूको कथा समेटेको गीतमा सपना भताभुंगा हुँदाको पीडा र छटपटि हेर्न सकिन्छ ।
हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको रहेको व्यक्ति कसरी पलपलमा टुक्रिन्छ ? चोखो प्रेमको गहिराइमा रहने र त्यसको महत्व नबुझ्नेबीचको अन्तरको मर्मस्पर्शी कथा गीतले बोकको छ । गीतको यो कथा देखाउन भिडियोमा आयुष्मान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ फिचर्ड छन् ।
वियोगान्त गीतले सिनेमाको कथा संकेत गरेको छ । प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झनेबीचको अन्तर सिनेमामा रहेको गीतबाट अनुमान लगाउन सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, आयुष्मान, सृष्टिसहित महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शमको पनि अभिनय सिनेमामा हेर्न पाइन्छ ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को-प्रोडुसरमा भोलानाथ कटुवाल र रमन ग्रे तथा कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन् । सिनेमालाई बलिराम चौहानको निर्देशन गरेका हुन् ।
नरेन्द्र मैनालीले गरेको छायांकन रहेको सिनेमाका आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।


प्रतिक्रिया