द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को ट्रेलरलाई ११ लाखभन्दा बढि भ्यूज पाएको छ । गत सोमबार रिलिज भएको सिनेमाको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म १५ हजार लाइक तथा १ हजार २ सय बढि प्रतिक्रिया प्राप्त छन् ।
अधिकांशले सिनेमाको ट्रेलर मन परेको प्रतिक्रिया दिएका छन् । गत सोमबार दिउँसो रिलिज भएको सिनेमाको ट्रेलरलाई लिएर निर्माण पक्ष पनि खुशी रहेका छन् । उनीहरु दर्शकको प्रतिक्रियाबाट दंग देखिन्छन् । ट्रेलरमा सिनेमाको एक्सन-सस्पेन्स कथावस्तु, एक्सनका दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको देख्न सकिन्छ ।
सत्ताको पावरमा आम मानिसमाथी हैकम चलाउनेको एक दिन सर्वनास हुन्छ भन्ने भाव ट्रेलरमार्फत निर्देशकले भन्न खोजेका छन् । यो सिनेमामा अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ । यो सिनेमामा अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ । प्रहरी इन्पेक्टरको भुमिकामा उनी देखिएकी छन् ।
दर्शकको अपार माया पाइरहेको अवस्थामा अभिनेता सुशील श्रेष्ठ दर्शकको प्रतिक्रियाबाट एकदमै खुशी लागेको बताए । उनी भन्छन्, ‘एकदमै राम्रो लागेको छ मलाई पनि । अडियन्सको फिडब्याकले झन एकदमै उत्साहित बनाइरहेको छ ।’ टिजर ट्रेलरबाट एकदमै राम्रो प्रतिक्रियाले आफु उत्साहित भएको र सिनेमाले दर्शकको मन जित्छ भन्नेमा उनी विश्वस्त देखिए ।
प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी अञ्जना बराईली पनि दर्शकको सकरात्मक प्रतिक्रियाले दंग परेको बताउँछिन् । उनी भन्छिन्, ‘परिवर्तनलाई लिएर म आशावादी छु । साथै डराई पनि रहेको छु । किनभने आफुले पनि फरक भुमिका निवार्ह गरेको र कन्टेन नै देशको स्थितिको बारेमा छ । त्यस कारण म उत्साहितका साथै नर्भस पनि बनेकी छु ।’
दिव्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको ट्रेलरमा सुशील र अञ्जनाका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतलाई पनि देख्न सकिन्छ । ट्रेलरबारे निर्देशक विजय केरुङ पनि खुशी देखिएका छन् । उनका अनुसार यो सिनेमामा एक्सनसहित सामाजिक सन्देश पनि बोकेको छ ।
एक्सन–सस्पेन्स विधामा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको सिनेमाको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गरेको हो ।


प्रतिक्रिया