द सिनेमा टाइम्स, काठमाडौं । गत माघ १ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनरत सिनेमा ‘भाईरल गोर्खे’को फाइनल ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको २ मिनेट ७ सकेण्ड लामो सिनेमाको फाइनल ट्रेलरले टिकटकमा भाईरल अनि गुमनामपछिको अवस्था चित्रण गरिएको छ ।
दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमाले यो ट्रेलर सार्वजनिक भएपछि थप दर्शक हलसम्म पुग्ने अपेक्षा निर्माण टिमको छ । निर्माता महेश लामिछाने सिनेमाले विस्तारै दर्शकको साथ पाइरहेको बताउँछन् । उनी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई लिएर मोफसलका दुई ठुला सहर पोखरा र चितवन पुगेर काठमाडौं फर्केका छन् । मोफसलमा मिलेको दर्शक प्रपितक्रियाले थप उत्सनहित बनाएको सौगात र सृष्टि बताउँछन् ।
सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’को रोचक ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घर-घरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।


प्रतिक्रिया