द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल अभिनित सिनेमा ‘प्रवासी जीवन’को पहिलो गीत सार्वजनिक गरिएको छ । अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा सिनेमाका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ ।
सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको संगीत र डिपी खनालको शब्द रहेको छ । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्ष सहितको प्रवासी जीवनको कथा बोकेको सिनेमालाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।
प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउने निर्देशक क्षेत्रीले बताए । ‘सिनेमाले प्रवासी जीवनको एउटा नदेखिएको सरल झैँ लाग्ने गम्भीर समस्यालाई चित्रण गरेको छ,’ उनले भने । मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर सिनेमा तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फलदायी हुने निर्देशक क्षेत्रीको बुझाई छ ।
सिनेमामा निर्देशक श्यामसहित राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपालको सहकार्य रहेको सिनेमाको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ ।
छायाँकार समेत रहेका रविन आचार्य निर्माता रहेको सिनेमालाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको हो । सिनेमाको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।
सिनेमामा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व संगीत, देवी खतिवडाले शृङ्गार, राज शंकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले संगीत सिर्जना गरेका छन् भने प्रमोद खरेल र प्रताप दाससहितका गायकले स्वर दिएका छन् । फागुन १५ देखि देशव्यापी प्रदर्शन हुने संगीतलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया