द सिनेमा टाइम्स, काठमाडौं । सफल नेपाली सिनेमा ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सिनेमालाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो ।
नेपाल र भारतका हलमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्याउने उद्देश्यसहित सिनेमालाई डिजिटल रूपमा रिलिज गर्ने निर्णय लिएको निर्देशक नवीन चौहानले बताए । यो सिनेमाले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।
नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको सिनेमाले भारतमा पनि सफलता प्राप्त गर्यो । भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो ।
भारतमा सिक्किमको गान्तोकसहित पूर्वोत्तरका विभिन्न सहरहरू दार्जिलिङ, कालिम्पोङ र आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म पुगेको थियो । फरक भाषा र परिवेश भए तापनि सिनेमाले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो।
समय र स्थानका कारण हलसम्म पुग्न नसकेका देश-विदेशका धेरै दर्शकहरूले सिनेमा रि-रिलिजको निरन्तर माग गरिरहेका थिए । दर्शकहरूप्रति रहेको त्यही जिम्मेवारीलाई सम्मान गर्दै आर्टमाण्डुले यसलाई युट्युबमा ल्याएको बताएको छ ।
विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको सिनेमालाई आर्टमाण्डुले केवल एउटा सिनेमा मात्र नभएर माटो, सम्झना र सम्बन्धको न्यानो कथाका रूपमा चित्रण गरेको छ ।


प्रतिक्रिया