द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने सिनेमा ‘कुमारी’को ट्रेलर काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । हजारौं दर्शकको उपस्थितिमा पहिलो पटक नेपाली सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
हजारौँ दर्शकमाझ आफ्नो सिनेमाको ट्रेलर रिलिज गरिनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले दिएका थिए । यहाँ उपस्थित दर्शकको उत्साह सिनेमा घरसम्म पनि पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । निर्माता महेन्द्र अधिकारीले दर्शकले दिएको मायाले आफूलाई निरन्तर नेपाली सिनेमा निर्माणमा सक्रिय रहन थप प्रतिबद्ध बनाएको बताए ।
ट्रेलर सार्वजनिक कार्यक्रममा सिनेमाका पाश्र्व गायक केहर सिं लिम्बु र ब्याण्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो । यो सहित अन्य लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई सांगीतिक प्रस्तुतिमार्फत झुमाएका थिए । सांगीतिक कन्सर्ट र सिनेमा प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
यो सिनेमाबाट डेब्यु गरेका मुख्य कलाकारद्धय अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै हर्षित बनाएको बताए ।
सिनेमाको सार्वजनिक ट्रेलरले एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गर्छ । प्रेमलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक द्वन्द्वलाई ट्रेलरले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । यी दुई पात्रबीचको प्रेम, संघर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यमार्फत गहिरो रूपमा व्यक्त गरिएको छ ।
सिनेमाको ट्रेलरमा कलाकारको अभिनय, संगीत, सिनेमाटोग्राफी र संवाद उत्कृष्ट देखिएका छन् । दृश्य संयोजनले कथा र भावनालाई आकर्षक तरिकाले प्रस्तुत गर्दै दर्शकमा उत्साह र आशा जगाएको छ ।

शाहिल खानले सम्पादन गरेको यो ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ । कार्यक्रममा उपस्थित लभस्टोरी सिनेमाका सुपरस्टार आर्यन सिग्देल र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिए ।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका निर्देशक दिनेश राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल दभस्टोरी सिनेमाका लागि चिनिन्छन् । पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित सिनेमा ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ निर्देशन गरेका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीको लगानी र विकास सुवेदीको लेखन सिनेमामा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ । छायांकन सुसन प्रजापति र सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको रहेको सिनेमामा साउन्ड डिजाइन उत्तम न्यौपानेको छ ।
सिनेमाको यसअघि सार्वजनिक गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले चर्चा पाइसकेकाले सिनेमाको ट्रेलरले दर्शकको अपेक्षा अझ बढाएको देखिन्छ । ट्रेलर सार्वजनिक समारोहमा ‘डोको बुन्ने’ गीतले ५० लाख भन्दा बढी भ्युज प्राप्त गरेको खुसीयालीमा केक काटेर दर्शकमाझ खुसी साटिएको थियो ।
यो सिनेमाका गीतमा स्वर केहर सिंह लिम्बु र संगीतमा सुमन तामाङ तथा शब्द रचनामा सागर लामिछाने मगर र सुमन तामाङले सहकार्य गरेका छन् ।



प्रतिक्रिया