‘विधिको शासन’ बोलको गीतबाट गायक बने अभिनेता विजय बराल

‘विधिको शासन’ बोलको गीतबाट गायक बने अभिनेता विजय बराल

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रंगमञ्च तथा सिनेमाको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता विजय बराल गायक बनेका छन् । सिनेमामार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका विजयले ‘विधिको शासन’ बोलको गीत मार्फत गायनमा डेब्यु गरेका हुन् ।

अभिनेता बरालको गायन डेब्यु केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसंगति विरुद्धको एउटा बलियो अवाजका रूपमा आएको छ । सौरभ कार्कीको शब्द रचना तथा प्रशान्त शिवाकोटीको संगीत रहेको गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ ।

विशेषगरी, गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ । देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । जनआन्दोलनदेखि पछिल्लो समयको युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, ‘मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ । यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् । फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।’

गीतको अडियो जत्तिकै यसको भिडियो पनि शक्तिशाली बनाइएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ ।