दिनेश राउत निर्देशित ‘कुमारी’को अमेरिकादेखि मध्यपूर्वसम्म प्रदर्शन अधिकार बिक्री

दिनेश राउत निर्देशित ‘कुमारी’को अमेरिकादेखि मध्यपूर्वसम्म प्रदर्शन अधिकार बिक्री

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘कुमारी’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशका लागि सिनेमा बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले बताएका हुन् ।

अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले सिनेमा रिलिज गर्नेछन् । ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशबाट समेत सिनेमा प्रदर्शनका लागि माग आइरहेको निर्माता अधिकारीले बताए ।

काठमाडौंको भृकुटीमण्डपमा हजारौं दर्शकको उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि सिनेमाले स्वदेश तथा विदेशमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । युट्युब ट्रेन्डिङमा समेत पर्न सफल ट्रेलरले हालसम्म करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ । निर्देशक दिनेश राउतले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको भन्दै यो उत्साह हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सिनेमा ‘कुमारी’बाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको अभिनय छ ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । छायांकन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहेको सिनेमाका कार्यकारी निर्माता केदार भुसाल हुन् ।

सिनेमाका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ले यसअघि नै चर्चा बटुलिसकेका छन् । विशेष गरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । सिनेमाका सबै गीतमा केहर सिंह लिम्बुको स्वर तथा संगीत सुमन तामाङ र शब्द रचना सागर लामिछाने मगर अनि सुमन तामाङको रहेको छ ।

लभस्टोरी कथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउतले सामाजिक विषयका सिनेमापछि पुनः प्रेम कथामा फर्किएको ‘कुमारी’ले स्वदेश र विदेशका दर्शकको मन जित्ने विश्वास लिइएको छ ।