द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १६ गतेबाट सिनेमा ‘द ब्ल्यू लाइट’ देशब्यापी प्रदर्शन हुँदैछ । बलिराम चौहानको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ ।
निर्देशक चौहानका अनुसार यो सिनेमा केवल हेरेर बिर्सिने कथा मात्र नभई दर्शकले गहिराई अनुभूत गर्ने एउटा विशेष सिनेमा भएको दाबी गर्छन् । सिनेमाले मानव मनको जटिलता, एक्लोपन र वास्तविकता तथा भ्रमबीचको सूक्ष्म रेखालाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
सिनेमाको ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई हरर जनराको सिनेमाको रूपमा बुझेका थिए । तर, निर्देशक चौहानले यसलाई स्पष्ट पार्दै भनेका छन्, ‘हाम्रो सिनेमा हरर होइन, यो एउटा मनोवैज्ञानिक ड्रामा-थ्रिलर हो । यद्यपि, केही दृश्यहरूले दर्शकलाई डरको अनुभूति भने पक्कै गराउनेछन् ।’
पछिल्लो समय नेपाली सिनेमा उद्योगमा नयाँ निर्देशकहरूको आगमन र पलायनको क्रम बढ्दो छ । सोही सन्दर्भमा निर्देशक चौहान आफूलाई फरक रूपमा प्रस्तुत गरेका हुन् । उनी भन्छन्, ‘म रातारात हिट हुन वा त्यसैगरी हराउन आएको होइन । म एउटा लामो यात्राको लागि तयार भएर सिनेमा क्षेत्रमा प्रवेश गरेको हुँ । मेरो योगदान र गन्तव्य अरूभन्दा फरक हुनेछ ।’
सिनेमा ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन् । सिनेमाको कथा यी दुई पात्रको वरिपरि घुम्ने निर्देशकले जानकारी दिए । स्थापित कलाकारहरूको ठूलो जमघट रहे पनि भूमिकालाई लिएर कुनै विवाद नभएको र सबै कलाकारले आफ्नो चरित्रमा नयाँपन पाएको चौहानको दाबी छ ।
‘हामीले प्रेम, धोका र बदलाकै विषयलाई नयाँ शैलीमा देखाउन खोजेका छौँ । यसभित्रका पात्रहरूको संवेग र भावनाहरू निकै संवेदनशील छन्, जसले दर्शकलाई नयाँ खालको अनुभव दिनेछ,’ उनले भने । मंसिर यता लगातार नेपाली सिनेमाले दर्शकलाई निराश बनाइरहेका बेला ‘द ब्ल्यू लाइट’ले भने दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको सिनेमामा बेनिशा र अर्पणसहित आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी, बाल कलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्मा मुख्य भूमिकामा छन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमाका को–प्रोड्युसरमा भोलानाथ कटुवाल र रमन ग्रे तथा कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन् । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमामा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।


प्रतिक्रिया