द सिनेमा टाइम्स, काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको सिनेमा ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार सिनेमामा समावेश ‘तिमी मैं सँग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । भिडियोमा यी दुईको केमेष्ट्री निकै सुहाउँदो देखिएको छ । प्रेम र यात्राको कथा भनिएको यो गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
देवेन्द्र बब्लुको शब्द रचना र स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ । भिडियोको सुरुवातमा सिनेमाका मुख्य पात्र (देबेन्द्र बब्लु)ले आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै गर्दा उनी कुनै विगतको सफलता वा प्रेमको यादमा हराइरहेको देखिन्छन् । भिडियोमा देवेन्द्र र रोशनी कार्कीको प्रेममय यात्रा हेर्न सकिन्छ ।
यो गीतको सुरुवातमा देखिएको त्यो नोस्टाल्जिया र अन्त्यमा देखाइएको भावुक विछोड वा पीडाले दर्शकलाई सोच्न बाध्य बनाउँछ, के यी सबै पुराना सम्झनाहरू मात्र हुन् ? अभिनेत्री रोशनीको भक्कानिएर रोएको दृश्य र देवेन्द्रको मौनताले भिडियोलाई शक्तिशाली बनाएको छ ।
गायक दवेन्द्र बब्लु आफ्नो गायकीका लागि त परिचित छन् नै, तर यो भिडियोमा उनको अभिनय पनि निकै परिपक्व देखिएको छ । अभिनेत्री रोशनी कार्कीसँगको उनको जोडी स्वभाविक देखिन्छ । भिडियोमा उनीहरूको सम्बन्धमा एउटा आधुनिक र रोमान्टिक स्पर्श दिएको छ । ‘बुकी’को गीतले सिनेमा एउटा गम्भीर र भावनात्मक प्रेमकथामा आधारित रहेको स्पष्ट पारेको छ ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुरक्षा पन्त, देवेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
सिनेमाको छायांकन काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटनका रमणीय क्षेत्रमा गरिएको छ । लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसर हुन् ।
विकास गन्दर्भको डिओपी रहेको सिनेमालाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । श्याम मल्लको श्रृंगार, थम्मन थापाको प्रोडक्सन, पब्लिसिटी डिजाइन राकेश दाहालको रहेको सिनेमाको हालसम्म प्रदर्शन मिति घोषणा नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र देशब्यापी रिलिजको लक्ष्य राखेको छ ।


प्रतिक्रिया