द सिनेमा टाइम्स, काठमाडौं । अनुराग सिंह निर्देशित बलिउड सिनेमा ‘बोर्डर २’ले बक्सअफिसमा सुनामी ल्याएको छ । सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारको अभिनय रहेको सिनेमा ‘बोर्डर २’ले भारतीय बक्सअफिसमा पहिलो विकेण्डमा करिब २ सय करोड कमाई गरेको हो ।
यो बलिउड वार-ड्रामाले रिलिजको पाँच दिनसम्म विश्वव्यापी बक्सअफिसमा २ सय ५० करोड भारूको आँकडा पार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । सिनेमाले सोमबार भारतको गणतन्त्र दिवसको दिन भारतमा मात्र ५९ करोड भारू नेट कमाई गरेको छ । चार दिनमा भारतमा नेट आम्दानी १ सय ९३ करोड भारू र ग्रस आम्दानी २ सय १२ करोड भारू पुगेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् ।
हिजो मंगलबार विक डेजमा समेत ‘बोर्डर २’ले २३ करोड व्यापार गर्दै पाँच दिनमा २ सय १६ करोड नेट कमाई गरेको हो । विदेशी बजारमा पनि सिनेमाले राम्रो प्रदर्शन गरिरहेको छ । पाँच दिनमा फिल्मको विश्वव्यापी कमाइ २ सय ७० करोड भारू पुगेको छ ।
यो सिनेमाले केही ठूला सिनेमाहरूको लाइफटाइम कमाइलाई पछि पारेको छ । सोमबार यसले सलमान खानको ‘सिकन्दर’को १८४ करोड भारू र अजय देवगनको ‘रेड २’ २४३ करोड भारू गरी दुई ठूला सिनेमाहरूको लाइफ टाइमको कलेक्सनलाई पार गरेको हो । यो सिनेमा भारत-पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ । भूषण कुमार, कृष्ण कुमार, जेपी दत्ता र निधि दत्ता यो सिनेमाको निर्माता हुन् ।
नेपालका सिनेमा हलहरूमा समेत ‘बोर्डर २’ प्रदर्शनरत छ । नेपालको बक्सअफिस कमाइ आगामी सोमबार सार्वजनिक हुनेछ । नेपालमा पनि सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ ।


प्रतिक्रिया