द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर सिनेमा ‘द ब्ल्यू लाइट’ माघ १६ गते शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।
बलियो स्टारकास्ट रहेको यस सिनेमाले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको छ ।
बेनिशा हमाल नेपाली सिनेमा उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छन् । बेनिशा जस्तो सुकै भूमिकामा पनि आफूलाई ढाल्न सक्ने अभिनेत्री हुन् । मोर्डन शहरिया अथवा गाउँले सोझी युवतीको भूमिकामा होन्, उनी सवैमा फिट देखिन्छन् । जस्तोसुकै चरित्रमा पनि ढल्नसक्ने अभिनेत्री बेनिशाको ‘द ब्ल्यू लाइट’लाई लिएर उत्साहित छिन् ।
बेनिशा यो सिनेमाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन् । ‘अहिले हामीले हेरिरहेका सिनेमाभन्दा केही फरक छ,’ बेनिशा भन्छिन्, ‘त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्त छ ।’
सिनेमाको कन्टेन्ट र पफर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारेकी छन् । बेनिशा ‘द ब्ल्यू लाइट’को कार्यकारी निर्माता पनि हुन् । साइकोलोजिकल थ्रिलर सिनेमा ‘द ब्ल्यू लाइट’को विषय र प्रस्तुति मुख्य आकर्षण भएको उनले बताएकी छन् ।
यस्तै, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यो सिनेमामा नेगेटिभ भूमिकामा देखिँदै छिन् । उनले यसअघि पनि थ्रिलर सिनेमा ‘११ः५५’मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’को आफ्नो भूमिकालाई अहिलेसम्मकै फरक भूमिका बताएकी छन् ।
‘यो सिनेमामा मेरो भूमिका अलि एन्टागोनिस्ट (खलपात्र) प्रकृतिको छ । मलाई यस्तै थ्रिलर जनराका सिनेमामा रुचाइएको छ । तर ‘द ब्ल्यू लाइट’को भूमिका र कथा एकदमै गहिरो र फरक छ,’ उनले भनिन् ।
कलाकार अपर्ण थापाले सिनेमा ‘द ब्ल्यू लाइट’ जस्तो सिनेमा कमै मात्रै बन्ने बताएका छन् । उनले ‘द ब्ल्यू लाइट’ जस्ता सिनेमा बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिने बताए । केही सिन र त्यसको प्रस्तुतिको तारिफ गर्दै सिनेमा हेरेपछि दर्शकले धेरै कुरा थाहा पाउने अर्पण दाबी छ ।
अर्पण भर्सटाइल अभिनेता हुनुका साथै आफैँ निर्देशक र लेखक पनि हुन् । गम्भीर अभिनयका लागि चिनिएका उनले सिनेमामा पात्र निर्माण गर्दा ऐनामा हेरेर आफूलाई ह्यान्डसम देख्नु र पर्दामा चरित्रमा ढल्किनु फरक कुरा भएको बताए ।
सिनेमा ‘द ब्ल्यू लाइट’मा बेनिशा, श्रृष्टि र अर्पणसहित आयुष्मान देशराज जोशी, महेश त्रिपाठी, सुरक्षा इटानी र बाल कलाकार ग्रिष्मा कटुवाल र सहारा शर्माको अभिनय छ । सिनेमालाई बलिराम चौहानले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशन हो ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमाका को–प्रोड्युसरमा भोलानाथ कटुवाल र रमन ग्रे तथा कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन् । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमामा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।


प्रतिक्रिया