फागुन १ गते रिलिज हुने ‘शिवांश’का लागि कैलाश खेरले गाए ‘शिव ताण्डव’

फागुन १ गते रिलिज हुने ‘शिवांश’का लागि कैलाश खेरले गाए ‘शिव ताण्डव’

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली दर्शकले प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘शिवांश’मा सुन्न पाउने भएका छन् । बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै ‘शिवांश’मा कैलाशको स्वरमा ‘शिव ताण्डव’ रेकर्ड गरिएको जानकारी दिएको हो ।

बिहीबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य पात्रहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा प्रवीण हातमा चक्कु बोकेर रौद्र, तेज रिसाहा, रुशा न्यौपाने र बिमला लिम्बू केही आश्चर्यमिश्रित भावमा हेरिरहँदा विकाश जोशी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ ।

श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ । पोस्टरले सिनेमाका पात्रहरू तनावमा रहेको देखाएको छ । कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ । महाशिवरात्रिको छोको पारेर रिलिज हुने सिनेमा ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकका लागि एक भिडियो सन्देश जारी गर्दै आफ्नो सांगीतिक परियोजना र भारत–नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।

कैलाश खेरले आफ्नो आवाज रहेको सिनेमा ‘शिवांश’लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ‘यस पटक केही विशेष छ । भारत–नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु ।’

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको सिनेमाको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् । सिनेमामा प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । सिनेमाको कथा अञ्जान केसीले लेखेका हुन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत रचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत र राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ । सिनेमामा द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफर विक्रम चौहान, मिलन मानन्धर प्रोडक्सन म्यानेजर र आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् । चलचित्र चौतारीले पोष्ट प्रोडक्सन र वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।