द सिनेमा टाइम्स, काठमाडौं । माघ १६ गते शहिद दिवसको अवसर पारेर भोलि शुक्रबारबाट प्रदर्शनमा आउने दुई सिनेमा ‘आ बाट आमा’ र ‘द ब्लयू लाइट’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यी दुवै सिनेमामा स्थापित कलाकारको जम्बो टिम रहेकाले बक्सअफिस चलायमान हुने अपेक्षा सिनेमाकर्मीको छ ।
हिजो बुधबारबाट देशभरका मल्टीप्लेक्सहरूले दुवै सिनेमाको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला थिए । यी दुई सिनेमामध्ये ‘आ बाट आमा’ले उत्साहजनक शो पाएको छ । सिनेमालाई शुक्रबारका लागि देशव्यापी १३८ शो उपलब्ध भएको खल्ती एपमा देखिन्छ । ‘द ब्लू लाइट’ले हालसम्म ६१ शो पाएको भएपनि भोली रिलिजसम्म एक सय हाराहारी शो पाउने विश्वास निर्माण टिमको छ ।
आमा-छोराबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा ‘आ बाट आमा’ आधारित छ । यता, ‘द ब्लयू लाइट’ साइकोलोजिकल थ्रिलर सिनेमा हो । यी दुवै सिनेमा फरक जनरा र विषयवस्तुमा निर्माण भएका छन् । यस हिसाबले दुवै सिनेमाका लक्षित वर्ग फरक छन् ।
चन्द्र पन्तको निर्देशनमा निर्माण भएको सिनेमा ‘आ बाट आमा’मा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, दीलिप उखेडा, हेमराज अधिकारी लगायतको अभिनय रहेको छ । सिनेमामा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गानाको लगानी छ ।
बलिराम चौहानको निर्देशनमा निर्माण भएको सिनेमा ‘द ब्लू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी र बालकलाकार ग्रिष्मा कटुवाल र साहारा शर्मा लगायतको अभिनय रहेको छ ।
अभिनेत्री बेनिशा यो सिनेमाको कार्यकारी निर्माता पनि हुन् । उनले यसको डिजिटल अधिकार समेत खरिद गरेकी छन् । सिनेमामा डेव्यु निर्देशक बलिराम चौहान स्वयंको लेखन रहेको छ ।


प्रतिक्रिया