फ्राइडे रिलिज : महाशिवरात्रिको छेकोमा ‘श्री बुकरो’, ‘बिगुल’ र ‘शिवांश’

फ्राइडे रिलिज : महाशिवरात्रिको छेकोमा ‘श्री बुकरो’, ‘बिगुल’ र ‘शिवांश’

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन १ आज शुक्रबारबाट महाशिवरात्रि र भ्यालेनटाइन डेको छेको पारेर तीन नेपाली सिनेमा देशव्यापी प्रदर्शनमा आएका छन् । जसमा सुदीप भुपाल सिंह निर्देशित श्री बुकुरो, रमेश कोइराला निर्देशित बिगुल र सन्तोष कुमार आत्रेय निर्देशित शिवांश प्रदर्शनमा आएका हुन् ।

फरक कथावस्तुमा निर्माण भएका तीनवटै सिनेमाले सुखद् शो पाएका छन् । यी तीन सिनेमाले देशव्यापी एक सय आसपासमा शो पाएका हुन् । अग्रीम टिकट बुकिङ तीनवटै सिनेमाको अपेक्षित देखिएको छैन् । यो परिस्थितिमा तीनवटै सिनेमालाई व्यापारिक रफ्तारका लागि दर्शकको बलियो ‘वर्ड अफ माउथ’ आवश्यक देखिन्छ ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो’मा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, लय संग्रौला लगायतको अभिनय रहेको छ । रुबी सेन सिंह निर्माता रहेको सिनेमाले पुरानो थातथलोलाई बचाइराख्नुपर्छ भन्ने सन्देश दिँदै पारिवारिक सम्बन्धको कथा पेश गरेको छ ।

रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमा ‘बिगुल’ राजनीतिक विषयवस्तुमा आधारित छ । सिनेमामा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय देख्न सकिन्छ । दिनेश कोइराला निर्माता र कल्पना पौडेल प्रस्तुतकर्ता रहेको सिनेमामा शिव ढकालको छायांकन छ ।

सन्तोष कुमार आत्रेयको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘शिवांश’मा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विमला लिम्बू, विकाश जोशी, प्रदीप कुमार चौधरी, टीका निरौला लगायतका कलाकारहरूले अभिनय गरेका छन् । यो सिनेमाका निर्माता अञ्जान केसी हुन् । भारतीय गायक कैलाश खेरले समेत सिनेमामा ‘शिव ताण्डव’ स्वर भरेका थिए ।