नीर शाह १० वर्षपछि निर्देशनमा फर्किए, कमला मिसको शुभमुहूर्तसहित छायांकन सुरु

नीर शाह १० वर्षपछि निर्देशनमा फर्किए, कमला मिसको शुभमुहूर्तसहित छायांकन सुरु

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह एक दशकपछि सिनेमा निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा निर्माण हुन लागेको ८ औं सिनेमा ‘कमला मिस’को शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभमुहूर्त गर्दै त्यहीँबाट छायांकन सुरू गरिएको हो ।

अभिनेता तथा निर्देशक शाहले पछिल्लो पटक सन् २०१५ मा सिनेमा ‘सेतो बाघ’को निर्माण तथा निर्देशन गरेका थिए । स्वर्गीय साहित्यकार विजय मल्लद्वारा लिखित चर्चित नाट्य कृति ‘कोही किन बर्बाद होस्’को कथाबाट प्रेरित यो सिनेमामा निर्देशक शाहसहित बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।

बाल मनोविज्ञानजस्तो संवेदनशील विषयलाई सिनेमाले उजागर गर्ने जनाइएको छ । विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण हुने सिनेमाको कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् । विजय मल्लको कथा र निर्देशक नीर शाह, प्रजल दुलाल र सुगम दुलालले पटकथा तथा संवाद संयुक्त रूपमा तयार पारेका हुन् । सिनेमामा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

सन् १९६९ मा प्रकाशित ‘कोही किन बर्बाद होस्’ कृतिमाथि कुञ्ज थिएटर, सेन्ट जेभियर्स कलेज, बुढानिलकण्ठ स्कुल लगायतले नाटक मञ्चन गरिसकेका छन् । कुञ्जले मञ्चन गरेको नाटकमा चर्चित रंगकर्मी सुनिल पोखरेलले समेत अभिनय गरेका थिए । प्रेम र मातृत्वले बालबालिकामा पार्ने प्रभाव र अभिभावकको दायित्वको कथा सिनेमामा समेटिएको छ ।