द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री आना शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘रमिताको पिरती’ हाल नेपालमा दोस्रो हप्तामा प्रदर्शनरत छ । नेपाली दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमा अब भारतमा समेत प्रदर्शनमा आउने भएको हो ।
यो वर्षकै उत्कृष्ट सिनेमाको रुपमा चर्चा पाएको सिनेमा भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले सिनेमालाई मार्चको दोस्रो सातादेखि भारतका हलमा देखाउने जिम्मा लिएको छ । कम्पनीले आफूहरु भारतको रिलिजका लागि निर्माताको रुपमा जोडिएको जनाउँदै ‘रमिताको पिरती’को कथा र प्रस्तुति भारतका युवा दर्शकले पनि रुचाउने विश्वासका साथ रिलिजका लागि जुटेको बताए ।
निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’ भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो । ‘रमिताको पिरती’ले अहिलेको युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको सिनेमाले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ ।
इन्फिनिटीले ‘रमिताको पिरती’ले भारतीय युवा दर्शकको पनि मनोविज्ञानलाई समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ । दक्षिण एसियाका कथा संसारभर पुर्याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित ‘रमिताको पिरती’कोे वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ ।
यसले नेपाली सिनेमालाई सीमा भित्र मात्र नभएर सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने जनाएको छ । यो सहकार्यलाई इन्फिनिटीका प्रतिनिधिले भने, ‘यो सिनेमाले आजको युवाको प्रेम जीवनलाई दुरुस्त देखाएको छ । जुन भारतका दर्शकले पनि मज्जाले रिलेट गर्न सक्छन् । राम्रो सिनेमा धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो सिनेमालाई धेरै दर्शकसम्म पुर्याउँछौं ।’
अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेकोे र चाँडै भारतका कुन कुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सुदिप्ताको निर्देशनमा निर्माण भएको सिनेमा ‘रमिताको पिरती’मा आना शर्माको मुख्य भूमिका रहेको छ । सिनेमामा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी आदि कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया