द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालले आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रवासी जीवन’ले उज्वल भविष्यको सपना बोकेर विदेश पुग्ने नेपालीको कथालाई भन्ने बताएका छन् । यो सिनेमाको विषयमा जानकारी दिँदै अभिनेता हमालले ‘प्रवासी जीवन’मा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने संदेश रहेको बताए ।
‘म अमेरिका गएको समायमा सिनेमाका निर्देशक तथा अभिनेता श्याम जी सँग भेट भयो । उहाँको अभिनय प्रतिको लगावले गर्दा म सिनेमामा अभिनय गर्न तयार भएँ । यसमा देखिएको विषयले कहीँ कतै प्रवासमा रहेका नेपालीको विषयलाई सम्बोधन गरेको छ,’ उनले भने ।
नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षसहितको प्रवासी जीवनको कथा बोकेको सिनेमालाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर सिनेमा तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए ।
उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’
मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर सिनेमा तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने उनले बताए । सिनेमामा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपालको सहकार्यसमेत रहेको सिनेमामा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायांकन गरिएको सिनेमालाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । निर्माता समेत रहेका छायाँकार रविन आचार्य पनि यो सिनेमाका निर्माता हुन् ।
निर्माता आचार्यले महानायक हमाल सिनेमासँग जोडिनुलाई विषयवस्तुकै आकर्षणका रुपमा प्रस्ट्याए । यसको विषयले एउटा सचेतना पनि दिन्छ, यो प्रवासी जीवनको उज्यालो र अध्यारोसँग जोडिएको कथा हो । हामीले निकै कम चर्चा गर्ने मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको सुन्दर जीवनले प्रेरणा दिन्छ भन्ने हामीलाई लागेको छ । यो प्रवासमा रहेका आफ्नो परिवारको बारेमा बुझ्न पनि हेर्नु पर्ने एउटा सिनेमा बनेको छ ।
सिनेमाको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व संगीत, देवी खतिवडाले शृङ्गार, राज शंकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले संगीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् । प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएको सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया