धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाको तेस्रो शाखा इलाममा खुल्यो

धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाको तेस्रो शाखा इलाममा खुल्यो

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो ।

इलाम नगरपालिका-७ मा आउँदो शुक्रबारबाट यो सिनेमा घर सञ्चालनमा आउनेछ । फ्रेन्डन् सिनेमाका निर्देशक आशिस एच तामाङका अनुसार साढे तीन करोड लगानीमा सिनेमा घर तयार भएको हो ।

एउटा स्क्रिन रहेको यो सिनेमा घरमा १९० सिट क्षमता छ । चलचित्र विकास बोर्डले शुक्रबारबाट सञ्चालनको अनुमति दिइसकेको छ ।

‘ठूला सहरमा मात्रै सिनेमा घर रहेको अवस्थामा हामीले गाउँ गाउँमा पनि सिनेमा देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौं,’ तामाङले भने, ‘हामी सिनेमाको बजार विस्तार गर्नुपर्छ भन्छौं, तर सिनेमा घर भने काठमाडौं र ठूलो सहरमा मात्रै केन्द्रित गर्छौं । बजार विस्तार गर्ने हो भने हरेक जिल्लामा सुविधा सम्पन्न हल सञ्चालनमा आउनुपर्छ ।’

सञ्चालक आशिषले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली सिनेमाको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ । अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा सिनेमा हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।